काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाँणले जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका हुन् ।
अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय गरेको छैन ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई १८ वर्ष सेवा अवधि पुरा भएपछि पेन्सन दिन प्रस्ताव गरेको छ । गृहमन्त्री खाँणले कोभिड-१९ को जोखिममा प्रहरी कर्मचारीले गरेको कामको उच्च प्रशंसा गरेका छन् ।