डडेल्धुरा – डोटी नछाड्ने अडान लिएका नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले अन्ततः कैलालीमाट टिकट पाए । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी गठबन्धनका साझा उम्मेदवार भएका छन् । बलाययरले डोटी छाडेसंगै कैलाली ४ मा ‘हेभिवेट’ नेताहरु एक–आपसमा भिड्ने पक्का छ । सोही क्षेत्रबाट एमाले उम्मेदवार लेखारज भट्ट उम्मेदवार छन् । उनी पार्टीका केन्द्रीय सचिव र सुदूरपश्चिम इञ्चार्ज पनि हुन् ।
यसअघि माओवादी केन्द्रबाट विजयी भएका भट्टले केही वर्ष अगाडि मात्रै एमाले रोजेका हुन् । यो क्षेत्रमा यी दुईबाहेक अन्य आठ उम्मेदवार चुनावी मैदानमा छन् । बलायरको यो क्षेत्रबाट पहिलोपटक उम्मेदवारी हो भने भट्ट यही क्षेत्रबाट तेस्रोपटक चुनाव लड्दैछन् । दुई पटक विजयी भएका भट्ट एकपटक भने काँग्रेसका उम्मेदवारसंग पराजित भएका छन् ।
भौतिक पूर्वाधारमन्त्री भइसकेका बलायर ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट वाम गठबन्धनका प्रेम आलेसँग पराजित भएका थिए । आलेले ३२ हजार ५ सय १० मत ल्याएर विजयी हुँदा बलायरले ३० हजार ८ सय ७८ मत पाएका थिए ।
तत्कालीन माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टले वाम गठबन्धनको तर्फबाट २०७४ सालको निर्वाचनमा कैलाली–४ बाट ३१ हजार ३ सय ५९ मत ल्याएर विजयी भएका थिए । उनीसँग कांग्रेसका सुनिल भण्डारी पराजित भएका थिए । भण्डारीले २० हजार ९ सय ६० मत मात्रै प्राप्त गरेका थिए ।
भट्टले व्यवस्थापिका २०६३ बाट संसदीय यात्रा प्रारम्भ गरेका थिए। त्यतिबेला उनी अन्तरिम विधायिका बनेका थिए । भट्ट २०६४ सालको निर्वाचनमा कैलाली–५ बाट विजयी भएका थिए । अहिले उक्त क्षेत्र नै कैलाली ४ भएको हो । भट्ट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री, श्रम तथा यातायात व्यवस्थामन्त्री र विज्ञान प्रविधि मन्त्री भइसकेका छन् ।
कैलाली–४ मा मोहन्याल गाउँपालिका वडा नम्बर ५, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिका गरि चारवटा स्थानीय तह पर्दछन । यो क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले २३ हजार ७३३, एमालेले १७ हजार ८५, माओवादी केन्द्रले ९ हजार २ सय ८६ पाएका थिए । त्यसैगरी नेकपा एकीकृत समाजवादीले ४ हजार ४९ मत पाएको थियो । स्थानीय तहको मत हेर्दा भने बलायर ति नजिक देखिन्छन् । तर बलायरलाई सो क्षेत्रमा टुरिस्ट उम्मेदवारको आरोप लागेको छ । बलायरको पुख्यौली घर डोटी हो । विसं २०२२ साल भदौ ४ गते डोटी लाटामाण्डौं–६ मा मध्यमवर्गीय परिवारमा जन्मिएका बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । परिवारिक पृष्ठभूमि पश्चात राजनीतिक यात्राको चर्चा गर्दा ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए ।
नेता बलायर नेपाली काँग्रेसको डोटी जिल्ला सभापति, नेपाली काँग्रेस केन्द्रीय सदस्य, २०६४ सालको संविधानसभा २०६४ को उम्मेदवार हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी (१) बाट निर्वाचित हुँदै सविधानको हस्ताक्षरकर्ता समेत हुन् । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी (१) बाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजु देउवाको पनि विश्वास पात्र मानिन्छन् ।
भट्टको पुख्यौली घर पनि डोटी हो । उनी विस २०३० सालबाट राजनीतिमा प्रवेश भएका थिए। उनी तत्कालीन मोहनबिक्रम सिंहको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसँगै नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) मा सामेल भई नेकपा– माओवादीको एक पूर्ण–समय सदस्य बनेका थिए । माओवादीमा उनी सुदूरपश्चिमको कमाण्डर नै बनेका थिए । उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल पनि परेका थिए ।
उनले नेकपा माओवादी केन्द्रबाट पहिलोपटक २०६४ सालको संविधानसभा सदस्यको चुनाव लड्दा कांग्रेसका दीर्घराज भाटलाई करिब साढे ४ हजार मतान्तले पराजित गरेका थिए । २०७० को चुनावमा भने काँग्रेस नेता भाटले नेता भट्टलाई पराजित गरेका थिए । २०७४ सालमा भट्टले काँग्रेसका सुनिल भण्डारीलाई झण्डै ११ हजार मतान्तरले जितेका थिए । त्यो बेला वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए । त्यसपछि एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको एकता भंग भएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन् ।