काठमाडौँ – आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका २६६ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा काँग्रेसका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
पाँच दलीय गठबन्धनमा काँग्रेसले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा ५० प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक जनता पार्टी र राष्ट्रिय जनमोर्चालाई ४४ प्रतिशत सिटमा काँग्रेसले समर्थन गरेको छ ।
प्रदेश सभातर्फ भन्ने काँग्रेस र बाँकी चार दलका गरी बराबरी उम्मेदवार रहेको पाइन्छ । काँग्रेसले प्रदेश १ को प्रदेशसभा सदस्यमा २६, मधेस प्रदेशसभा सदस्यमा २५ बागमती प्रदेश सदस्यमा ४१, गण्डकी प्रदेशसभा सदस्यमा २२, लुम्बिनी प्रदेशसभा सदस्यमा ३१, कर्णाली प्रदेशसभा सदस्यमा १२ र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा १८ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।
यस अनुसार गठबन्धनभित्रको सिट बाँडफाँटमा काँग्रेसले दाबी अनुसार नै सिट पाएको छ । तर पार्टीभित्रको उम्मेदवार छनोटमा भने काँग्रेस असमावेशी चरित्र देखाएको छ । प्रतिनिधिसभाका ९१ मध्ये ५ सिटमा मात्र महिला उम्मेदवार बनाएको काँग्रेसले दलित समुदायलाई बहिष्करण गरेको छ । प्रदेशसभाको उम्मेदवार छनोट समावेशी दृष्टिकोणमा झन् उदेक लाग्दो छ ।
काँग्रेसले सात वटा प्रदेशमध्ये ६ प्रदेशमा महिलालाई प्रत्यक्षतर्फ टिकट नै दिएको छैन भने बागमती प्रदेशमा ४१ उम्मेदवार उठाउँदा ३ जना महिलाले अवसर पाएको देखिन्छ । प्रदेशमा पनि १ दलितलाई उम्मेदवार बनाउन काँग्रेसले आवश्यक ठानेको देखिँदैन । पार्टीमा एक जना सह महामन्त्री र ८ जना केन्द्रीय सदस्य छन् ।
टिकट वितरणमा पहुँच भएका सह महामन्त्री जीवन परियारले समानुपातिक रोजे भने केन्द्रीय सदस्यलाई नेतृत्वले पत्याएन । पार्टीभित्रको चरम गुटबन्दी र दलित भएका कारण टिकट नपाएको केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) को गुनासो छ । नेतृत्वले पार्टीका ४५ हजार दलितको मन दुखाउने काम गरेको उनको भनाइ छ ।