काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको जिकिर गर्दै यसका केही विशेष उदेश्यहरु रहेको बताएका छन् ।
उनले पाँच दलीय रहरको उपज नभएर बाध्यताको परिणाम नभएको पनि बताएका छन् ।
सोमबार गठबन्धनमा आवद्ध दलहरुको वाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनका उमेदवारलाई जिताउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले सातै प्रदेशमा भएको शीर्ष नेतृत्वको कार्यक्रमले दल र दलका कार्यकर्ताबीच आपसी विश्वसनीयता र एकता बढाउन सहयोग पुगेको जिकिर गरे ।
देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताए । उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए । उनले त्यसका लागि नै गठबन्धन बनेको बताए ।
’यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन,’ उनले भने, ’गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । ’मुलुकमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशी, समानुपातिक व्यवस्था रहेको संविधान हटाउन नसक्ने गरी गठबन्धन अगाडि बढ्ने देउवाको प्रतिबद्धता थियो ।
राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको उनले बताए । गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको उनको भनाइ थियो । नेपालको व्यवस्थाले पनि गठबन्धन गर्नुपर्ने देखिएको उनले भनेका छन् ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरूभित्र नेताहरूमा समस्या रहेको देउवाको भनाइ थियो । उनले नेताहरूले गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भएपनि अब मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले भने, ’गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ । चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिएको हुने भएकाले एकताबद्ध भएर अघि बढ्न र आफू गठबन्धन टिकाउन लागेको हुँ । गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ । गठबन्धनले जित्नुपर्छ ।’