काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन्। नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमिमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको माल्यार्पण समारोहमा देउवा सहभागी भएका हुन्।
कार्यक्रममा संस्कृति मन्त्री, काठमाडौँ, भक्तपुर र ललितपुरका मेयर उपमेयर सहभागी भएका छन्। आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरु गरेका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने।
वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।