काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गरेको बताए ।
सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्य सहयात्री दलहरूको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ छ ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढङ्गले अघि बढेको पार्टी भएकोसमेत जिकिर गरे । उनले छिट्टै पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए ।
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन नै आफ्नो पार्टीको केन्द्रिय विषय भएको बताए ।
उनले भौतिक पूर्वाधार र मानवीय संशोधनको विकास गरेर मुलुकको समग्र आम्दानीलाई अगाडि बढाउने प्रश्नमा आफूहरू केन्द्रित रहेको उनले बताए ।
उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको निर्बाध नागरिकले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।