बाजुरा- बाजुराको हिमाली गाउँपालिका –४ बोर्ताका ११३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। असोज २३ देखि २६ गते सम्म लगातार परेको अविरल वर्षाका कारण हिमाली गाउँपालिकाका झण्डै ११३ परिवारहरू बाढीपहिरोबाट प्रभावित बनेका थिए।
सामाजिक अभियन्ता रिता शाहीले गाउँपालिकाको समन्वयमा बाढीपहिरोबाट प्रभावित बनेका बोर्ताका ११३ परिवारलाई चामल, नुन, तेल र भाँडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको बताइन्। हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले पनि हिमाली गाउँपालिका बाढीपहिरोबाट प्रभावित परिवारलाई हिमाली गाउँपालिकाको पहलमा तथा समन्वयमा विभिन्न ठाउँबाट राहत वितरण गर्दैआएको बताए।
योभन्दा पहिला हिमाली गाउँपालिकाले बोर्ताका ११३ परिवारलाई नुन, चामल, दाल, कपडा, भाँडा र त्रिपाल वितरण गरेको उनको भनाइ छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बाढीपहिरोले प्रभावित बोर्ताका ११३ परिवार अहिले त्रिपालको बासमा रहेको बताए।