दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–२ तम्बाकुस्थित भारतमा विष्फोट गरिएको ढुंगा उछिट्टिएर बाटोमा हिँडिरहेका एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान तम्बाकुबाट घर फर्किने क्रममा बाटो हिँडिरहेको अवस्थामा सीमा पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर ब्यास गाउँपालिका–२ का हिक्मत महराका अन्ताजी ८÷९ वर्षीय छोरा पवन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनु भएको छ ।
डिएसपी पाण्डेयका अनुसार बिहान साढे ९ बजेतिर ब्यास गाउँपालिका–२ स्थित तम्बाकु नजिकको थि भन्ने ठाउँबाट दुम्लिङ्तर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमा पारि भारतबाट आएको ढुंगा लागेर मृत्यु भएको बताएका छन । भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पूर्व सूचना नदिई विष्फोट गराउँदा घटना भएको बताइएको छ ।
मृतक पवनसँगै हिँडिरहेकी हिक्मतकी छोरी पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छन् । उनको पनि तिग्रामा सामान्य चोट लागेको पाइएको छ । दुम्लिङ्देखि माथिल्लो क्षेत्रमा भारतीय पक्ष नेपालतर्फको सीमा क्षेत्रमा व्यापक नोक्सान हुने गरी सीमा पारि सडक निर्माणकाम तिब्र बनाइ रहेको छ । भारतीय क्षेत्रमा विष्फोट गराउनु पर्दा सिठ्ठी लगाएर सूचना दिँदै पड्काउने गरेका थिए । शुक्रबार भने सिठ्ठी नबजाइकन विष्फोट गराउँदा क्षति भएको त्येहाका स्थानीयबासीको भनाइ रहेको छ ।
अहिले घटनास्थलमा दुम्लिङ्बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गराएका छन् । भने जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।