काठमाण्डाै – डोल्पामा हिउँ चितुवा र मानव द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवाले भेडा–च्याङ्ग्रा तथा चौरी मार्ने घटना बढेपछि हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको हो ।
केही समय अघि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ का डाक्वा गुरुङका ५२ वटा च्याङ्ग्रा हिउँ चितुवाले एकै रात मार्यो । त्योभन्दा अघि अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा मारिए । यसरी हिउँ चितुवाले गोठभरकै पशुचौपाया मारेपछि किसान पीडित हुनुको साथै द्वन्द्व पनि बढेको हो ।
आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । सन् २०१७ देखि २०२२ सम्म दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रालाई हिउँ चितुवाले खोरमै आएर मारेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याङ्क छ ।
वन्यजन्तुभन्दा घरपालुवा जनावरको सिकार गर्न सजिलो हुने भएकोले हिउँ चितुवाको रोजाइमा घरपालुवा जनावर पर्ने गरेको स्थानीय बताउँछन् । पशुपालकका लागि निकुञ्जले सुधारिएको खोर बनाउन सहयाेग गर्नुको साथै बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ ।
सन् २०१९ मा गरिएको सर्वेक्षण अनुसार फोक्सुण्डोमा झण्डै दुई सय वटा हिउँ चितुवा रहेका छन् । निकुञ्जभित्र हिउँ चितुवाको मुख्य आहारा नाउरको सङ्ख्या पनि उल्लेख्य रहेको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो ।