काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा आउन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताएका छन् । आइतबार बिहान गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि यो निर्वाचन सबभन्दा सहज ठानेको छु’, प्रचण्डले भने, ‘यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुदैछ ।
’उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए । राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध गर्ने प्रयास भनेजसरी नभएको भन्दै उनले सोही कारण आफु आएको बताए । ‘म गोरखा आउनुको उद्देश्य या मक्सद भनेको गोरखा हरेक दृष्टिकोणले, ऐतिहासिक, भौगोलिक, पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले पनि महत्वपुर्ण जिल्लाभित्र पर्दछ’, उनले भने, ‘यहाँ आउँदै गर्दा गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । सुशासन र विकासको सानो सपना बोकेर होइन, राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्ने गरी आएको छु ।
’कार्यक्रममा नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले सुरु गरेका राम्रा कामको निरन्तरताका लागि अहिलेको अवस्थामा नेपालको सबभन्दा चर्चित व्यक्ति (प्रचण्ड) गोरखामा आएकोमा आफु अत्यन्त हर्षित भएको बताए । उनले निर्वाचनपछिको प्रधानमन्त्री प्रचण्ड रहेको समेत बताए ।