धनगढी– कैलाली जिल्लाको चालु आर्थिक वर्षको दररेटमा घोलेको बालुवाको मूल्य प्रति घनमिटर सात सय ५० रुपैया कायम गरिएको छ।
गत आर्थिक वर्ष सात सय १० रुपैयाँ थियो। चालु आर्थिक वर्षका लागि घोलेको बालुवाको प्रति घनमिटर ४० रुपैयाँले मूल्य वृद्धि भएको छ। गिट्टीको पनि मूल्य वृद्धि भएको छ। गत वर्ष ४० मि.मि.को गिट्टिको मूल्य एक हजार २ सय ५० रुपैयाँ थियो भने यस वर्ष एक हजार तीन सय ५० रुपैयाँ पुगेको छ। एक वर्षमा प्रति घनमिटर एक सयका दरले मूल्य बढेको छ। गत वर्ष २० मि.मिको गिट्टिको मूल्य एक हजार ८ सय थियो। यो वर्ष २० मि.मि गिट्टिको मूल्य एक हजार ८९० रुपैयाँ पुगेको छ। नदीजन्य पदार्थको मूल्य गत वर्षभन्दा वृद्धि भएको छ।
तर कैलालीको गोदावरी नगरपालिकाले भने रकम घटाएर नदीको ठेक्का गर्ने तयारी थालेको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले तीन पटकसम्म सूचना सार्वजनिक गर्दा पनि कसैको ठेक्का नपरेकाले रकम घटाएको बताए। ‘तीन पटक हामीले टेन्डर आह्वान गरेउ। तीनै पटक परेको छैन। तीन पटक नपरेका कारण चौथो पटक रेट घटाएर पुनः टेन्डर गरेका छौ। १५ गते खुल्छ।’
गोदावरी नगरपालिकाले गोदावरी, खैराना र खुटिया नदीबाट नदीजन्य पदार्थ उत्खनन् लागि वर्सेनि बोलपत्र आह्वान गर्दै आएको छ। नगरपालिकाले ७ करोड न्यूनतम मूल्य राख्दै तीन/तीन पटक बोलपत्र आह्वान गर्दापनि कसैको आवेदन परेको छैन्। भदौ पहिलो साताबाट तीनवटै नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न बोलपत्र आह्वान गर्ने काम भएपनि कसैको आवेदन नपरेको हो।
नगरपालिकाले तेस्रो पटक सार्वजनिक गरेको बोलपत्रमा पनि कसैको आवेदन नपरेपछि न्यूनतम रकम नै घटाएर सूचना सार्वजनिक गर्नु परेको हो। चौथो पटक प्रकाशित सूचनामा पाँच करोड ५० लाख न्यूनतम रकम कायम गरिएको छ। नगर प्रमुख भट्टले भने, ‘मूल्य बढी त होइन। तर हालेनन्। सात करोडमा नपरेपछि साढे पाँच भएको छ। त्यसमा हाल्छन कि भन्ने आशा हो।’ गत आर्थिक वर्ष ६ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँमा ठेक्का स्वीकृत भएको थियो।
गोदावरी नगरपालिकाले हरेक वर्ष गोदावरी, खैराना र खुटिया नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न बोलपत्र आह्वान गर्दै आएको छ। नगरपालिकाले आफ्नो आन्तरिक आम्दानीको मुख्य स्रोतको रुपमा नदीजन्य पदार्थ उत्खनन् भएको बताउँदै आएको छ। तर आर्थिक मन्दीका कारण आवेदन नपरेको दाबी गरिएको छ।
नगरपालिकाका एक जना कर्मचारीले भने, ‘रकम बढी त होइन। तर व्यवसायीसँग पैसा पनि नभएर समस्या भएको देखिएको छ। हामीले फोन गरेर पनि ठेक्का हाल्न भनेका हौँ। तर उहाँहरु आउनु भएन। कारण आर्थिक मन्दी पनि हुन सक्छ।’