दार्चुला – दार्चुलामा नेकपा माओवादी केन्द्र मार्मा गाउँ कमिटीका नेता मदन विष्ट, मदनबहादुर विष्ट, महानी विष्ट र महेश विष्टले आफुहरू नेकपा माओवादी केन्द्रमै रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
हिजो नेकपा माओवादीका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर गणेशसिह विष्ट लगायतको टोली नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी मार्फत जानकारी आएको थियो ।
नेकपा एमाले मार्मा गाउँ कमिटीले थालेको घरदैलो अभियानको क्रममा विष्ट एमाले प्रवेश गरेको पुष्टि भएको छ । तर गणेश बिष्ट बाहेकका चार जनाले माओवादीमै रहेको विज्ञप्तिमार्फत जानकारी गराएका छन । अर्कै प्रयोजनका लागि फोटो खिचेर पार्टी प्रवेस भन्दै अफवाह फैलाएको उनिहरूको भनाइ छ । चारैजना नेकपा माओवादी पार्टी र आन्दोलनसंग आवद्ध रहेको र एमाले पार्टी प्रवेश भनेर फैलाइएको हल्ला झुटो भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।