काठमाडौँ: असोजको अन्तिम सातामा आएको भारी वर्षाले साना विद्युतगृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ ।पहिरो क्षति पुर्याएका विद्युतगृहहरु पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्ने जनाएको छ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लाहरुमा पुर्याइसकेको छ ।
गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको छ । नहरमा क्षति पुगी विद्युत उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युतबिहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन । क्षति पुगेका विद्युतगृहरुका संरचनाको पुनर्निर्माण भइरहेको छ ।
प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुल्लामा दुई हजार तीन सय ग्राहकहरु छन् । जेनेरेटहरु कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका हुन् । प्राधिकरणले ती जेनेरेटहरु सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवसम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो । प्राधिकरण र हुल्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिरोले क्षति पुर्याएको हेल्दुङ विद्युतगृहको संरचनाहरु र त्यहाँ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गरेको थियो । टोलीले एक महिनाभित्रमा पुनर्निमाणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलगायतलाई निर्देशन दिएको छ ।
‘क्षति पुगेका विद्युतगृहहरुको जतिसक्दो छिट्टो पुनर्निर्माण तथा मर्मत गर्ने छौं, तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन, तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेका छौं,’ उनले भने ।
हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जन श्रमदान मार्फत समेत पहिरोले क्षति पुर्याएको विद्युतगृहको नहरको पुनर्निर्माण भइरहेको बताए । ‘पुनर्निर्माणमार्फत विद्युतगृह तत्कालका लागि सञ्चालनमा ल्याएपनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकोले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नु पर्छ’, उनले भने ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले गमगाढ विद्युतगृहको पुनर्निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्तिको व्यवस्था गर्न आग्रह गरे । उनले पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाए ।