काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका छन् ।
बिहीबार गोरखा-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखा जिल्लाको इतिहास, राष्ट्रिय एकता, राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेकाले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका हुन् ।
उनले गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको बताए । उनले दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने धारणा राखे । उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको दाबी गरे । उनले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । त्यस्तै उनले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेकाले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजा नभएको अवस्थामा कांग्रेसले आफ्नो महत्व बुझ्नुपर्ने तर्क गरे ।