काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन्।
अध्यक्ष ओलीले स्वार्थहरूको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए। अध्यक्ष ओलीले भने, ‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ। एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौँ। आज कार्तिक १९ गते भइसक्यो। केही दिन भित्र मङ्सिर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकै दिन एकै चोटि गर्दै छौँ।’