काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई काठमाडौँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं. ३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका बाबुरामले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न आएको बताए ।
बाबुरामले भने, ‘उहाँ (प्रकाशमान सिंह)आफैं स्वच्छ छवीको व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । त्यसो भएको हुनाले उहाँको पक्षमा मत माग्न आएको हुँ ।’ प्रकाशमानसँग आफ्नो पहिलेदेखि नै पारिवारीक सम्बन्ध पनि रहेको बाबुरामले बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचन विशिष्ट भएकाले आफूहरुले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेको बताए । ‘सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरु विरुद्ध, हाम्रो अग्रगमन शक्तिहरुको गठबन्धन हो यो, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्ति पनि हुनुहुन्छ,’ बाबुरामले भने ।
उनले अहिलेको वाम-लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने र त्यसमै टेकेर सुशासन र समृद्धि आउने बताए ।