दार्चुला – अगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भारतसंग जोडिएका जिल्लाका सीमानाका ७२ घण्टाका लागि सिल गरिने भएको छ ।
भारतसंग जोडिएका जिल्लाका लाली, जोलजिवी, दत्तु, पुलघाट खलंगा, तिगरम, बडूगाउँ, मलघट्टे र सितापुल नाका मंसिर १ गते राती १२ बजे देखी मंसिर ४ गते राती १२ बजे सम्म सिल गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गरेर जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि छिमेकी राष्ट्र भारतसंग सीमा जोडिएका जिल्लाको सबै नाकाहरु ३ दिनका लागि बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । दार्चुलाबाट प्रतिनिधिसभामा विभिन्न दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसबाट दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेबाट गणेश सिंह ठगुन्ना, नागरिक उन्मुक्ती पार्टीका तारा दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर बम, नेश्नललिष्ट पिपुल्स पार्टीका धर्म सिंह दयाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र सिंह धामी, संघिय लोकतान्त्रिक राष्ट्रि मञ्च पार्टीका रमेशराम लुहार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामी र नेपाल किसान पार्टीका विश्वराम दुवाल प्रतिस्पर्धामा छन् ।
यस्तै प्रदेशसभा सदस्य पदका लागि पनि स्वतन्त्र सहित ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा क्षेत्र नम्बर १ गठबन्धनबाट नेपाली कांग्रेसका बिक्रम सिंह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्र बहादुर बम, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामी, स्वतन्त्रबाट शंकर सिंह धामी, नेकपा एमालेका हरदेव जोशी प्रतिस्पर्धामा छन् भने, प्रदेशसभा क्षेत्र नम्बर २ गठबन्धनबाट सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री मानबहादुर धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर सिंह धामी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना र नेकपा एमालेका रामदत्त जोशी प्रतिस्पर्धामा छन् ।
जिल्लामा ८९ हजार १ सय ५४ मतदाता रहेका छन् । यसैबिच सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।