काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागत गर्न नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले पार्टीपंतिलाई निर्देशन दिएको छ।
जिल्ला सभापति भीमबहादुर साउदले सूचना जारी गर्दै शुक्रबार अपराह्न डडेल्धुरा बसर्पाकमा फूलमालासहित उपस्थित भई राणालाई भव्य स्वागत गर्न भनेका हुन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा भोलि श्रीमान शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ। त्यसकारण जिल्ला पार्टी उनको स्वागतमा कस्सिएर लागेको हो।
स्वागतको तयारीबारे जानकारी दिँदै साउदले भनेका छन्, ‘…महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, क्रियाशिल सदस्यहरु र आस्थावान महानुभावहरुमा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।’
मन्त्रीको स्वागतमा फूलमालासहित उपस्थित हुन जिल्ला सभापतिले सूचना निकालेकोप्रति केही पालिका सदस्यहरुले भने असन्तुष्टि जनाएका छन्। गन्यापधुरा गाउँपालिकाका एक सदस्य भन्छन्, ‘फूलमाला त आफ्नो इच्छाले लगाइदिने पो हो त। जसरी पनि ल्याउनुपर्छ भन्दा शोभनीय देखिएन। अरु जान्छन् होला, म त जादिनँ।’