धनगढी: सुदूरपश्चिममा पछिल्लोसमय लागूऔषधको समस्या जटिल बन्दै गएको छ। विभिन्न रिपोर्ट तथा प्रहरीको तथ्यांकका अनुसार सुदूर तराईका जिल्लासहित पहाडी जिल्लाहरुमा समेत लागूऔषधको जालो फैलिदै गएको पाइएको हो।
सुदूरपश्चिमबाट निर्वाचित भएर गृहमन्त्री बनेका रमेश लेखकले समेत सो कुरालाई स्वीकार गरेका छन्। लेखकले हिजो (मंगलबार) मात्रै प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा प्रदेशभर लागूऔषधको अवस्था विकराल बन्दै गैरहेको भन्दै सीमानाकामा कडाई गर्नुका साथै नियन्त्रणमा निर्मम हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। आज पुनः गृहजिल्ला कञ्चनपुरमा पुगेर उनले सोही कुरा दोहोर्याएका छन्। उनले सुदूरपश्चिमका सीमानाकाबाट भित्रिने ड्रग्सले युवायुवती कुलतमा फस्नुका साथै अपराध, दुर्घटनालाई समेत बढाएको दाबी गरेका छन्।
जसमा प्रहरीले पनि लागूऔषध नियन्त्रणका लागि तदारुकताका साथ काम गरिरहेको दाबी गर्दै आएको छ। प्रहरीका विभिन्न कार्यालयका सादा पोसाकका युनिट, लगायत विभिन्न प्रहरी टोली, प्रहरी कार्यालयहरुले पछिल्लो समय लागूऔषध ओसारपसार, कारोबार तथा सेवनलाई कन्ट्रोल गर्न अधिकतम प्रयास गरिरहेको जनाएका छन्।
त्यसका बाबजुद पनि लागूऔषध प्रयोगकर्ताको संख्यामा भने कुनै कमी नआएको सरोकारवालाको बुझाई छ। प्रहरी कार्यालयका हिरासत लागूऔषध मुद्दाकै थुनुवाले भरिभराउ भैरहेको अवस्थामा पनि कैलाली तथा कञ्चनपुरका खुला सीमा नाकाका कारण सो समस्या विकराल बन्दै गएको प्रहरी अधिकारीहरुको जिकिर छ।
यसका साथै परिवार तथा अविभावकको लापरबाही र जनचेतनाको कमिले पनि लागूऔषध समस्या जटिल बनेको उनीहरूको भनाई छ।
लागूऔषध नियन्त्रणका लागि व्युरो थप
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले कैलालीमा ड्रग्सको कारोबार तथा युजर वृद्धि भएसँगै धनगढीमा कार्यालयसहित व्युरोको युनिट खडा गरिएको छ। लागूऔषध नियन्त्रणमा मात्रै केन्द्रित भएर काम गर्नेगरी लागूऔषध नियन्त्रण व्युरोको टोली खडा गरिएको हो।
यस अगाडि सुदूरपश्चिमस्थित कञ्चनपुरको महेन्द्रनगरमा मात्रै व्युरो थियो। सोही व्युरोले सुदूरपश्चिमसहित अन्य प्रदेशमा समेत लागूऔषध नियन्त्रणमा विभिन्न अपरेसन गर्दै आएको थियो। जसको कमान्डर सिनियर सब-इन्सपेक्टर केशव जोशी छन्। जोशी नेतृत्वको टोलीले रेकर्ड नै कायम गर्नेगरी विभिन्न अपरेसनलाई सफलतापूर्वक सम्पन्न गरेका थिए। उनले पछिल्लोपटक नेपालगन्ज र पुनर्वासक्षेत्रमा ठूलो मात्रामा ड्रग्स बरामद गर्दै सप्लायर र कारोबारीलाई पक्राउ गरेका थिए।
अहिले भने सो टोलीले मात्र लागूऔषध नियन्त्रणमा जनशक्ति अभाव भएपछि व्युरोको टोली थपिएको हो।
व्युरोका केन्द्रिय प्रमुख एसएसपी दिनेश आचार्यका अनुसार कैलालीको धनगढीमा कार्यालय रहेपनी जहाँसुकै व्युरोको टोलीले सम्बन्धित प्रहरी कार्यालय तथा युनिटको समन्वयमा लागूऔषध नियन्त्रणमा अपरेसन गर्नसक्ने छ। जसका लागि अहिले कार्यालय व्यवस्थापनसहित केही कर्मचारी खटाइएको उनले बताए।
उनका अनुसार अहिले व्युरोको कमान्ड असई उमेश खड्काले गरिरहेका छन् भने केही समयमै त्यहाँको कमान्ड बरिस्ठ सईलाई दिइने छ। जसका लागि भरत नाथ योगीको चर्चा छ। यद्यपि उनलाई अहिले नै जिम्मेवारी दिने विषयमा भने कुनै निर्णय भएको छैन। उनी काजमा व्युरो गैसकेका छन् भने उनी यस अगाडि कैलालीस्थित धनगढीको त्रिनगर प्रहरी चौकीको इन्चार्ज थिए।