कैलाली – यही मङ्सिर ४ गते हुने निर्वाचनमा सुरक्षाका लागि कैलाली जिल्लामा एक हजार आठ सय १२ जना प्रहरी खटिएका छन् । नेपाल प्रहरीको तर्फबाट एक हजार आठ सय १२ जना र दुई हजार आठ सय १२ जना म्यादी प्रहरी खटाइएको छ ।
योसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि निर्वाचनको शान्ति सुरक्षाका लागि खटिएको छ । तीनवटै सुरक्षा निकायको समन्वयमा कैलालीमा निर्वाचनको शान्ति सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
“कैलालीमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन प्रकारका मतदानस्थल रहेका छन्”, जोशीले भन्नुभयो, “त्यसैको आधारमा सुरक्षा व्यवस्था मिलाइएको छ ।” कैलालीका पाँचवटै निर्वाचन क्षेत्र र त्यसभित्रका पालिकामा पनि यतिबेला सुरक्षा चुनौतीलाई ध्यान दिएर प्रहरी परिचालन गरिएको प्रवक्ता जोशीले बताउनुभयो । पाँच लाख, ३५ हजार पाँच सय १४ मतदाता रहेका कैलालीमा दुई सय ३७ मतदानस्थल र छ सय २९ मतदान केन्द्र छन् भने आठ अस्थायी मतदानस्थल पनि कायम गरिएको छ ।