तुलसीपुर – फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्छ । सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ । वरपर वनजङ्गल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन ।
बस्ती नजिकै खोला बग्छन् तर खानेपानीको सहज सुविधा छैन । यस्तै पीडाले सताएको छ, राष्ट्रिय निकुञ्जभित्रका गाउँलाई । बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका–७ मलैखोलाबाट दङ्गीशरण गाउँपालिका–१ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीमा यस्तै समस्या छ ।
यी दुवै स्थान राष्ट्रिय निकुञ्जभित्र पर्छ । त्यहाँ टेलिकमको टावर नहुँदा घण्टौँ हिँडेर अग्लो डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ । पटक–पटक टावर निर्माणका लागि माग गरिए पनि त्यसको सम्बोधन हुन नसकेको मलैखोला निवासी बमबहादुर बुढाले बताउनुभयो । “हामीले पटक–पटक यहाँ टेलिफोनको समस्या समाधानका लागि ठाउँ–ठाउँमा भन्यौँ”, उहाँले भन्नुभयो, “तर हाम्रा माग सम्बोधन भएका छैनन् ।”
टेलिकमको टावर निर्माणका लागि गएको वर्ष सर्भेक्षण गरिए पनि त्यसपछि भने देखा नै नपरेको बुढाले गुनासो गर्नुभयो । यहाँ सडकको हालत पनि उस्तै छ । विसं २०६३ तिर यहाँ सडकको ट्रयाक खोलिए पनि अहिलेसम्म त्यसको स्तरोन्नति हुनसकेको छैन ।
यहाँ वर्षात्को समयमा सडक आवतजावत नै ठप्प हुन्छ । “वर्षात्मा छ महिना सडक बन्द हुन्छ”, मलै निवासी अमर बुढाले भन्नुभयो, “बाँकी छ महिनामात्रै गाडी चल्छ, त्यो पनि धुलाम्मे हुन्छ ।”
यहाँ कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालय छ । त्योभन्दा मथिल्लो तहमा शिक्षा आर्जन गर्न विद्यार्थी कि त घोराही, कि तुुलसीपुर पुग्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर हुनेहरू पढाइ छाडेर भारततर्फ जानुपर्ने बाध्यता छ । “आर्थिक अवस्था राम्रै हुनेहरू त कोही घोराही, कोही तुलसीपुर गएर पनि पढ्छन्”, स्थानीय प्रेम पुनले भन्नुभयो, “आर्थिक अवस्था कमजोर हुनेहरू कामको सिलसिलामा भारत जाने गरेकाले धेरैले बीचमै पढाइ छाड्न गरेका छन् ।”
त्यहाँको मलैखोलाको कटानले पनि उस्तै समस्या बनाएको छ । खोलाले खेतीयोग्य जमिन कटान गर्न समस्यामा रहेको उहाँले बताउनुभयो । यहाँका बस्ती राष्ट्रिय निकुञ्जको बीचमा छन् । त्यहाँ बाघ, भालुलगायत जनावरको त्रास उत्तिकै हुन्छ । कहिलेकाहीँ बाघले गाई, बाख्रा खाइदिने गर्छ । त्यतिमात्रै नभइ किसानले लगाएका बाली पनि बँदेलले नष्ट गरिदिन्छ । वरिपरि वनजङ्गल भए पनि काठ, दाउरा यहाँका बासिन्दाले सहज प्रयोग गर्न पाउँदैनन् ।
स्थानीय समितिको सल्लाहअनुसार दाउरा पाए पनि आवश्यक परेको खण्डमा काठ प्रयोग गर्न पाउँदैनन् । त्यसले पनि आफूहरू मारमा परेको फुर्केसल्ली निवासी प्रकाश रोकायले बताउनुभयो । “विस २०६८ मा यो क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले त्यो जङ्गललाई राम्रोसँग प्रयोग पनि गर्न पाएका छैनौँ ।”
विकट भएकै कारण केही पशु बिरामी हुँदा त्यहाँ प्राविधिक पनि आउन नमान्ने गरेको उहाँले बताउनुभयो ।“ पोहोर साल पशु बिरामी परे, हामीले प्राविधिकहरू बोलायौँ, तर दुर्गम भएकै कारण यहाँ आउन मानेन्”, उहाँले भन्नुभयो, “त्यसपछि मैले आफैँले भाडा तिरेर उनीहरूलाई यहाँ ल्याएको थिएँ ।”
बबई, मलैखोला हुँदै बाँकेको कोहलपुर जोड्न सकिएमा त्यहाँका नागरिकले सहज सेवा पाउने आशा छ । सडक पनि स्तरोन्नति हुने र विकास पनि हुने भएकाले यहाँको त्यो सडकलाई कोहलपुरसम्म जोडीदिन माग गरिएको हो ।
अन्तिमतिर मात्रै पुग्छन्, उम्मेदवार
निकुञ्जभित्रका यी वस्तुमा उम्मेदवार पनि प्रचार प्रसारको अन्तिमतिर मात्रै पुग्ने गर्छन् । फुर्केसल्ली र मलैखोलामा बुधबारमात्रै उम्मेदवार त्यहाँ पुगे । विगतमा पनि अन्तिमतिर मात्रै पुग्ने र जितेपछि पाँच वर्षसम्म पनि देखा नपर्ने स्थानीय दत्त बुढाको गुनासो थियोे । “चुनावको प्रचार गर्ने दिनको अन्तिमतिर मात्रै पुग्छन्”, उहाँले भन्नुभयो, “जितेपछि पाँच वर्षसम्म पनि मुख देखाउँदैनन् ।”
बुधबार वाम–लोकतान्त्रिक गठबन्धनकाका दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी, क्षेत्र नं ३ प्रदेशसभा सदस्य ९२०का उम्मेदवार धनबहादुर मास्की तथा एमालेका तर्फबाट दाङ–३ ९२० का प्रदेशसभा उम्मेदवार हुकुम बस्नेत यहाँ आउनुुभयो । एमाले र गठबन्धनको छुट्टाछट्टै स्थानमा कार्यक्रम भयो ।
गठबन्धन र एमाले दुवैका उम्मेदवारले त्यहाँको विकासमा प्रतिबद्धता जनाए । गठबन्धनका उम्मेदवार गिरीले त्यहाँबाट कोहलपुरका पुग्न सडक खोल्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले त्यहाँको विद्युत्, सडक र खानेपानीको समस्या समाधान गर्ने पनि बताउनुभयो । यसैगरी मास्कीले प्रायः ऐलानी बस्ती रहेकाले त्यहाँ लालपुर्जाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो भने बस्नेतले पनि त्यो ठाउँका सबै समस्या समाधान गर्ने आश्वासन दिनुभयो । मलैखोलामा तीन सय घरधुरीको बसोबास छ भने फुर्केसल्लीमा करिब साढे दुई सय घरधुरीको बसोबास छ ।