सुर्खेत – हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।
उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर ढिला गरिमात्र आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका तीनवटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए । मंगलबारमात्रै बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिका लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका नौ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे पनि सोही क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाका मतपेटिका अझै उठाइएको छैन । मतदान अधिकृतहरू हेलिकोप्टरको पर्खाइमा भएकाले पनि जगदुल्लाका मतपेटिका नउठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जिल्लाको ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिकाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेको बताइएको छ । धेरै मतदान केन्द्रका मतपेटिका झार्न बाँकी रहेकाले शुक्रबार पनि मतगणना हुने सम्भावना न्युन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।