कैलाली क्षेत्र नं.१ मा नागरिक उन्मुक्ती पार्टीले क्लिन स्विप गरेको छ । प्रतिनिधि सभा र दुईवटै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएसँगै बिहीबार दिउँसो नै पार्टीले व्यापक विजय र्यालीसमेत निकालेको छ ।
प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत सहित निर्वाचित भएकी छिन् । आफ्ना प्रतिद्वन्दी भन्दा १२ हजार ३२३ फराकिलो मतान्तरसहित श्रेष्ठ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउदा तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्र रावलले ५ हजार ९१० ल्याएका छन् । यो सँगै कैलाली क्षेत्र नं. १ मा ३ हजार २८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश सभा (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतले विजयी भएका छन । उनले १५ हजार १०१ मत ल्याउदा उनका निकटम् प्रतिद्वन्दी गठबन्धनका दिर्घ बहादुर बिनाडीले १० हजार ३७७ मत ल्याएका हुन ।
त्यस्तै राप्रपाका भिम बहादुर बमले ४ हजार ६० मत ल्याएका छन भने ‘क’ क्षेत्रमा १ हजार ११४ मत बदर भएको छ ।
यसैगरी प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरी विजयी भएका छन् ।
अन्तिम मतपरिणाम आउदा उनले ११ हजार ३१७ मत ल्याएका हुन् । उनका निकटम प्रतिद्वन्दी एवं सुदूरपश्चिम प्रदेशका बहालवाला मन्त्री डा. रणबहादुर रावलले ८ हजार ५३ मत ल्याएका छन् । तेस्रो भएका नेकपा (एमाले) का द्वारिका प्रसाद न्यौपानेले ५ हजार ३२० मत ल्याएका छन् ।
२९ हजार ६१४ मत खसेको प्रदेश सभा (ख) मा १ हजार ४०९ मत बदत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।