सिन्धुपाल्चोक- दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा नेकपा एमाले क्लिन स्वीप भएको छ ।
सिन्धुपाल्चोकमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १/१ र प्रदेशसभा क्षेत्रतर्फ २/२ सिट जितेर समान शक्ति बन्दा एमाले भने शून्यमा झरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।
सापकोटाले एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । सापकोटाले ३० हजार ३७४ मत पाउँदा नेपालले २७ हजार १८ मत पाएका छन् । २०७४ को चुनावमा नेपाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा बस्नेतले एमालेकै शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा तामाङले २७ हजार ४९३ मत मात्र पाए । सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुन् भने तामाङ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कानुनमन्त्री हुन् ।
प्रदेशसभा तर्फ १ (१) र २ (२) मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने १ को (२) र २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी मसिना खड्काले प्रदेशसभा १ (१) मा १४ हजार ६५२ मत प्राप्त गर्दै विजयी हुँदा नेकपा एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत पाएर पराजय भोगे ।
प्रदेशसभा १ (२) मा माओवादी केन्द्रका सरल सहयात्री पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत ल्याए । निर्वाचित सहयात्री माओवादी केन्द्र बागमती प्रदेका अध्यक्ष हुन् भने पराजय भएका श्रेष्ठ गाउँपालिका महासंघ र जुगल गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।
प्रदेशसभा २ (१) मा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ९०६ मत प्राप्त गर्दै विनयी भए भने एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मत पाएर पराजित भए । दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुन् । पराजित भएका तामाङ चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व मेयर हुन् ।
प्रदेशसभा २ (२) मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका हस्तबहादुर पण्डितले १६ हजार २५३ मत पाएर पराजित भए ।