धनगढी – सुदूरपश्चिम प्रदेशको कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पाँच दलीय गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका छन् ।
कैलाली ५ को मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । उनले २१ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार नारदमुनी रानालाई १ हजार ७१ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए । यस क्षेत्रबाट ०७४ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा करिब पाँच हजर मत अन्तरले पराजित भएकी थिईन्। यस पटकको निर्वाचनमा भने हार्ने आशंकापछि समानुपातिकमा झरेकी थिईन् ।
वाम गठबन्धनका नारदमुनि रानासँग राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी हुन्। एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार कांग्रेस नेतृ राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी छन्।
त्यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्यमा कैलाली ५ बाट कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । कैलाली ५ ९२० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् । उनले ९ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा जोशीले ६ हजार ३ सय ५१ मत ल्याए।
कैलाली ५ को सुदूरपश्चिम प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । माओवादीका रमेश धामी १ सय १९ मतको अन्तरले विजयी भएका हुन् । धामीले ९ हजार ३ सय ८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ९ हजार २ सय ६२ मत ल्याएका थिए ।