काठमाडौँ – आज (बुधबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ । सेयर बजारमा उतारचढाव आउँदा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ०.८५ अंकले घटेर ३८१.८४ विन्दुमा झरेको छ ।
कूल २३८ वटा कम्पनीको २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख ९५ हजार ३ सय १ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी २ वटा उपसमूहको सेयर बढेको छ । लघुवित्त समूह र व्यापार समूह मात्र बढेको हो ।
आज पनि हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ७९ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । बुधबार ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ४।१७ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ५० रूपैयाँ पुगेको छ ।
आज लक्ष्मी इक्विटी फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ५.७६ प्रतिशतले घटेर ७ रूपैयाँ ३६ पैसामा झरेको छ ।