महेन्द्रनगर – बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ ।
बुधबार घाँटी रेटेर हत्या गरेको अवस्थामा माया मृत फेला परेकी थिइन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी मोहनराज आचार्यका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । अहिले उनी फरार छन् । छिट्टै प्रहरीको नियन्त्रणमा ल्याउने प्रयास भईरहको छ ।
डिआइजी आचार्यका अनुसार हत्या आरोपित सशस्त्र प्रहरीका जवान हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको हो । उनलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको छ । भारत भाग्न सक्ने आशङ्कामा महाकाली नदीको तटीय क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
प्रहरीका अनुसार मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशङ्का बढेको हो ।
माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशङ्का छ ।