भक्तपुर -२८ वर्षीया जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी जेनिशाको हत्या गरिएको थियो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन्।
मृतक जेनिशाको शव चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा सोमबार फेला परेको थियो। हत्याको कारण लागुऔषध दुर्व्यसनी र शारीरिक सम्बन्ध भएको प्रहरीले बताए।
प्रहरीका अनुसार जेनिशा र कुमार एउटै घरमा डेरा गरी बस्ने छिमेकी हुन्। जेनिशा केही महिनादेखि श्रीमान्सँग टाढिएर बस्दै आएको र कुमारसँग नजिकिएको अनुसन्धानका क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। श्रीमान्सँग टाढिएकी जेनिशा र कुमारको सम्बन्ध बढ्दै गएर शारीरिक सम्बन्ध समेत हुँदै आएको थियो।
कुमार र नवराज साथी भएका कारण कुमारको कोठामा आउँदा जाँदा जेनिशासँग चिनजान भएको र सोही क्रममा जेनिशा र नवराजबीच पनि सम्बन्ध बढ्दै गएको अनुसन्धानमा खुलेको प्रनाउ पाण्डेले बताए।
लागुऔषधका दुर्व्यसनी समेत रहेका जेनिशा, कुमार र नवराजबीच गत फागुन २१ गते राति शारीरिक सम्बन्धको विषयमा विवाद हुँदा जेनिशाको घाँटी रेटी छातीमा समेत चक्कुले रोपेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताए।
हत्या आरोपमा पक्राउ परेका कुमार यसअघि पनि लागुऔषध ब्राउन सुगरलगायतको ओसारपसार र चोरी मुद्दामा करिब १० वर्ष जेल बसेर छुटेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताए।