काठमाडौं – काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हालै सम्पन्न निर्वाचनका क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।
मिश्रले मंगलबार निर्वाचन आयोग समक्ष २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। आफूलाई निर्वाचनमा कूल ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको पनि मिश्रले खुलाएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ। निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ।’
सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार रुपैयाँ खर्च भएको र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएको पनि उनले बताएका छन् । उनले भनेका छन्, ’यस पटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ुकाठमाडौँ क्षेत्र नं १ सरोकार कोषु मा जानेछ।’