धनगढी – सुदूरपश्चिम प्रदेशमा सरकार गठनको चर्चा सुरु भएको छ। सुदूरपश्चिममा सरकार बनाउन सत्तारुढ गठबन्धनले बहुमत पाएको छ। जसअनुरुप यहाँ समानुपातिकसहित नेपाली कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सिट जितेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा २७ जना सांसद हुँदा सहज बहुमत पुग्छ। अहिले यी सत्ता गठबन्धनका प्रमुख तीन दल मिल्दा प्रदेश सांसदको संख्या ३४ हुन्छ। प्रदेशसभामा सत्ता गठबन्धनभन्दा बाहिर रहेको एमालेले भने १० सिट मात्रै पाएको छ। यस्तै यो निर्वाचनबाट उदाएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको ७ र राप्रपाले १ सिट पाएको छ।
गठबन्धनको सरकार लगभग पक्कापक्की जस्तै बन्दा मुख्यमन्त्री को हुने ? भन्ने कुरा चाही चासोको विषय बनिरहेको छ। अहिले यहाँ गठबन्धनकै दलहरुभित्र मुख्यमन्त्रीको लागि मारामार परिरहेको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सबैले मुख्यमन्त्रीको दाबी गरिरहेका छन्।
निर्वाचनअघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा पुगेर सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीबाट बन्ने बताएका थिए। उनले माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्ने घोषणा नै गरेका थिए। तर, कांग्रेसले पनि सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गरिरहेको छ।
यसअघि माओवादीले पाँच वर्ष सरकार चलाएकाले अब मुख्यमन्त्री कांग्रेसबाट हुनुपर्ने उनीहरुको अडान छ। कांग्रेसबाट अहिले आधा दर्जन सांसद मुख्यमन्त्रीको लागि दौडधुप गरिरहेका छन्। कैलालीबाट निर्वाचित प्रकाश देउवा र कमल शाह, कञ्चनपुरबाट निर्वाचित बहादुर थापा र देवानसिंह विष्ट लगायतले अहिले मुख्यमन्त्रीको लागि लबिङ गरिरहेका हुन्।
उनीहरुमध्ये प्रकाश देउवाको सम्भावना बलियो रहेको काँग्रेस वृतमा चर्चा छ। यस्तै माओवादीले पनि मुख्यमन्त्रीमा बलियो दाबेदारी प्रकट गरेको छ। माओवादीबाट खगराज भट्ट मुख्यमन्त्रीको चर्चित उम्मेदवार छन्। यता एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ।
अहिले सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको समाजवादीका सांसद दीर्घ सोडारी बताउँछन्। सोडारी अहिले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पनि छन्। गठबन्धनको भागबन्डा गर्दा आफूले मुख्यमन्त्री पाउने उनको विश्वास छ।