धनगढी – नवनिर्वाचित सांसदहरूको स्वागतमा सुदूरपश्चिमको प्रदेशसभा भवन व्यवस्थापनको काम यतिबेला तीब्र रुपमा भईरहेको छ ।
भवनको बाहिर देखि लिएर भित्र सम्म नै अघिल्ला सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ माइक राखिएका छन् भने पुराना टेबल थन्काएर नयाँ टेबल फेरिएका छन् । प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिँएको छ ।
प्रदेश सभा सचिवालयका कर्मचारीहरू यो काममा खटिएको भएपनि यसको खर्च भने प्रदेश सभा वा प्रदेश सरकारले गरिरहेको छैन । नीति निर्माण गर्ने स्थानको व्यवस्थापनमा अहिले दाता निकायले खर्च गरिरहेको छ ।
युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजनामार्फत प्रदेश सभामा धमाधम व्यवस्थापनको काम भइरहेको हो।
युएनडिपीले अघिल्लो पटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यहीँ उपकरणका लागि आर्थिक सहयोग गरेको छ।
यसअघि प्रदेश सभाकै लगानीमा जडान भएका माइकहरू हटाएर युएनडिपीले डिजिटल माइक जडान गरेको थियो। अहिले फेरि पुरानै शैलीको माइक जडान सुरु गरिएको छ।
सचिवालयले युएनडीपीको २० लाख रुपैयाँ लगानीमा प्रदेशसभा भवनमा विद्युतीय उपकरण र फर्निचर लगायतका सामग्री फेरेर नयाँ राखेको जनाएको छ। यहाँ ५ लाख १४ हजारको फर्निचर र १५ लाख १७ हजारका उपकरण जडान भएका छन् ।