दार्चुला – दार्चुलाबाट यो वर्ष ३५९ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । निकासी भएको यार्सागुम्बा बाफत झण्डै १ करोड भन्दा बढि राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपुर्जा बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेको कार्यालयका सुचना अधिकारी इन्द्र सिह नगारीले जानकारी दिए । कार्यालयले यार्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका अनुसार हरेक वर्ष यार्सागुम्बाको निकासी अनुमतिपत्र दिने गरेको जनाएको छ ।
यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३१ हजारका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीबापत रु १ करोड १४ लाख ४६ हजार ५२५ रुपैँया राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र कार्यालयका अनुसार दार्चुलाको अपि हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत भनेकै यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।
अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो ।
यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६६९ किलो, २०७४/७५ मा ७६४ किलो, २०७५/७६ मा ५४५ किलो, २०७६/७७ मा ३२७ किलो र २०७७/७८ मा ३०५ किलो २०७८/७९ मा ३५९ किलोग्राम यार्सागुम्बा निकासी भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।