काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट पार्टीहरूले वस्तुनिष्ठ समीक्षा गर्न तयार हुनुपर्ने बताएका छन् ।
नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो भन्ने प्रश्नको समीक्षा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको कम्युनिस्ट पार्टीहरूले कहाँ ऋणी गरे किन उनीहरूले पाएको अवसर जोगाउन सकेनन् । पाएको मौकाको उपयोग गर्न सकेनन् । पाएको हैसियतलाई कायम राख्न सकेनन् । किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो यसको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । हामी समीक्षा गर्न तयार छौँ । यस्ता खालको प्रश्नहरूको जवाफ दिन पनि तयार छौँ ।’
आफूहरू नबिराउने नडराउने मान्यताको साथ अगाडि बढ्ने भएकाले कमजोरी महसुस गर्नुपर्ने अवस्था नभएको बताए ।
अध्यक्ष नेपालले एमालेप्रति लक्षित गर्दै विदेशीसामु लम्पसार परेको देख्दादेख्दै पुनः एमाले नफर्कने बताए ।
उनले भने,‘धूलिसात भएर कम्युनिस्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पनि विदेशीका सामु लम्पसार पर्न थालेको देख्दादेख्दै पनि कम्युनिस्ट पार्टीले क्रान्तिकारी स्थान गुमाउँदा गुमाउँदै त्यसैमा टाँसिरहने कुरालाई कसैले प्रेरित गर्न खोज्छ भने फेरि पनि त्यस्तालाई सरि भन्छौँ । दृढताको साथ त्यो प्रवृत्तिबाट देशलाई जोगाएका छौँ ।’
चुनावको मत परिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको भन्दै नेपालले कार्यकर्तालाई सान्त्वना दिए ।