डोटी – युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरले डोटीका भूकम्प प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको छ ।
डोटीको सायल गाउँपालिका वडा नम्बर ६ साउदनाराका १ सय ५० जना प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको युएमएन डोटीका सुशासन परियोजना व्यवस्थापक खेम भण्डारीले बताए ।
सायल गाउँपालिकाको समन्वय तथा वडा कार्यालयको रोहबरमा सोमबार युएमएन डोटीले प्रभाबित गाउँमै गएर प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो । भूकम्पले गर्दा सायल गाउँपालिकामा अधिकांश घरहरूमा क्षति पुर्याएको थियो ।
युएमएन डोटी क्लष्टरले भूकम्प प्रभावितहरूलाई बिपत व्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको युएमएन डोटी क्लष्टरका लेखा संयोजक खडक सुनारले बताए । १ लाख ९१ हजार २ सय ५० रुपैयाँ बराबरका त्रिपालहरू सहयोग गरिएको संयोजक सुनारको भनाई छ ।
गत कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।