नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफूले परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेको बताएका छन् । पार्टीको संसदीय दलको निर्वाचनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ भन्ने स्पष्ट पारेका हुन् ।
पार्टीको संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापाको पक्षमा कि ढिला गरी खुल्नुभयो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै पौडेलेले भने, ‘बाहिरबाट आ–आफ्नै ढंगको न्यारेटिभ बनाइन्छ । तर हरेक मान्छेले आफ्नो विवेक प्रयोग गर्छ । हामी जत्तिको मान्छेले विवेक प्रयोग गरेर निर्णय नगर्ने हो भने कहाँबाट सुधार सम्भव हुन्छ ।
’उनले थपे, ‘खासगरी पुस्तान्तरणको पक्षमा अग्रजहरूलाई सम्मान गर्दै अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ, कार्यशैली बदल्नुपर्छ, आम निराशा जुन देखिएको छ, त्यसलाई अन्त्य गरी रक्तसञ्चार गर्नुपर्छ भन्ने नै हो । आज राजनीतिप्रति जुन विश्वास घटेको छ, त्यसलाई बढाउनका निम्ति हामीले फरक ढंगबाट आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । त्यसैले परिवर्तनको पक्षमा लाग्नुपर्छ भन्ने लागेर स्वविवेकी निर्णय गरेको हो मैले ।’
उनले कसले के पाउने भनेर लोभ लालचमा परेर यो निर्णय नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘पछिल्लो पुस्ताको व्यवहार नै नागरिकलाई चित्त बुझेन । व्यवहार परिवर्तनको मुख्य विषय हो । राष्ट्रिय प्राथमिकता के हुनुपर्छ, त्यसमा जनताको स्वार्थ कसरी जोडिनुपर्छ भन्ने मुख्य कुरा हो । आम मतदाताले महसुस गर्ने गरी सुधारको पक्षमा राज्य र सरकारले काम गर्न जरुरी छ ।’