काठमाडौं – राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ विभाजित भएको छ । असन्तुष्ट पक्षले हालै सम्पन्न ८औ महाधिवेशन अवैधानिक भएको भन्दै समानान्तर कमिटी नै गठन गरेका हुन् ।
बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी सार्वजनिक गरेका हुन् । महासङ्घमा विभिन्न ४८ जातीय सङ्गठन सदस्य छन् । तर, चिनीमाया माझीको अध्यक्षतामा बनेको कमिटीले आफू अनुकूल सदस्य सङ्गठनलाई मात्र बन्द सत्रमा राखेको असन्तुष्ट पक्षको आरोप छ ।
गएको महाधिवेशनमा संस्था नवीकरण नभएको भन्दै २७ सदस्य सङ्गठनलाई बन्द सत्रमा सहभागी हुनबाट रोकेका थिए । असन्तुष्ट पक्षले सहयात्री सङ्गठनहरूलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यास विपरीतको कार्य भएको आरोप लगाएको छ ।
आजै सार्वजनिक गरेको समानान्तर कमिटीमा जुनिता राईको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष पुष्पा बुढाथोकी, उपाध्यक्ष (हिमाल) रीना थकाली, उपाध्यक्ष (पहाड) विना नगरकोटी पहरी, उपाध्यक्ष (तराई) माया चौधरी, महासचिव विनिता आले मगर, अनुसन्धान तथा सञ्चार सचिव सुजा राई, विदेश तथा परियोजना सचिव वसुन्धरा घर्ती भुजेल, जनसम्पर्क सचिव नानु थामी, भाषा तथा संस्कृति सचिव नरमाया दुरा र कोषाध्यक्ष मायालु तामाङ चुनिएको छ ।
त्यस्तै विनिता आले मगरको संयोजकत्वमा सातौँ महाधिवेशन देखि ८ औँ महाधिवेशन बिचमा दातृ निकायबाट प्राप्त करिब ८ करोड बढी रकम हिनामिना भएको ठहर गर्दै छानबिन समिति समेत गठन गरिएको छ ।