बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । देशको व्यापार घाटा बढिरहेको, आयात झनै विस्तार भएको र मुद्रा सञ्चितिमा अभूतपुर्व चाप परेको भन्दै उनले अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।
बुटवलमा रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रबारे चिन्ता व्यक्क गरेकी हुन् ।
‘मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्छ । निर्यात बढाउनुपर्ने हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्छ । कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिन्छ ।’
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिने भन्दै उनले यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरून् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइन् । उनले बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने समेत बताइन् ।
‘यसले उद्योगको प्रबर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउँछ, स्वदेशी उत्पादनको प्रबर्द्धन र बजारीकरणमा समेत सहयोग पुग्छ,’ उनले भनिन् ।