काठमाडौँ- अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र परिसूचक दुवैले छलाङ मारेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेकाे छ । नेप्से ३.११ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ३८६.०५ विन्दुमा पुगेकाे छ ।
कूल २६१ वटा कम्पनीकाे एक कराेड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ । मंगलबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २० कराेड ८८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज पनि आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्स्याेरेन्स, मल्टीपर्पस फाइनान्स, अजाेड इन्स्याेरेन्स, धौलागिरी लघुवित्त लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य २.६३ प्रतिशतले घटेर एक हजार ५ सय ८९ रूपैयाँमा झरेकाे छ ।