काठमाडौं- कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते साेमवारका लागि आह्वान भएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै पुस १८ गते सोमवार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएकाे हाे । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्नुहुने छ ।
गएकाे साेमवार कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएकाे थियाे ।
कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।