काठमाडौं – एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व अछामी लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ ।
अछामी लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । ‘आजको राति केटीहरू एउटै ठाउँमा जम्मा भएर रोटी पकाउछन्, अनि भिनाजुलाई बोलाउछन् र रोटी भाँच्न लगाउँछन्। त्यसपछि सबै मिलेर रोटी खाँदै गाउँखाने कथा ,गीत गाउदै रमाइलो गर्छन्।’
यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका अमामी खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।
पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो झन्डै २० फिट लामो दाउराको मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ । अन्य चाडपर्वजस्तै पुस १५ लाई पनि विशेष रुपमा मनाउँदै आएको, तुर्माखाँद गाउँपालिका – ८ का पुर्ण प्रसाद जैसीले बताए। उनले भने, ‘१५ गतेको बेलुकी प्रत्येकको घरघरमा चामलको पिठोको ढुकढुके रोटी पाक्छ। कसैले त्यसलाई ढुकढुके रोटी त कसैले भुच्चाने रोटी भन्छन्। ढुकढुके वा भुच्चाने परिकार चामलको पिठोमा घिउ लगाएर आगोको ठूलो भट्टीमा पकाउने गरिन्छ।’
मास र चामल एउटैमा पिसेको रोटी पनि हुन्छ । नुन खुर्सानीसहित मसला पनि हालेर पकाउने गरिन्छ भने ढुकढुके रोटीमा घिउ मात्र मिसाइन्छ। टोल टोलमा सामूहिक रूपमा पनि पकाउने गरिन्छ। रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ।
आफुहरूको पालामा साँच्चै रातभर जाग्राम बस्ने, कथा सुन्ने प्रचलन रहे पनि अहिले भने त्यो हराउदै गएको जैसीले सुनाए। पुस १५ गतेको रात, वर्ष भरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिएको जैसीले बताए। विशेष गरी किशोरीहरू मिलेर एउटै ठाउँमा जम्मा भइ रोटी पकाउने र इष्टमित्रको केटाहरू वा भिनाजुलाई निमन्त्रणा दिएर उनीहरूसँगै रोटी खाँदै न्याउले खेलेर, गीतकथा सुन्ने सुनाउने गरिन्छ।
पर्वको तयारी स्वरुप हरेक घरका गृहणीहरूले आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लाग्ने गर्छन्। पर्वमा विवाहित छोरी चेलीलाई घरमा आमन्त्रण गरी सत्कार गर्ने गरिन्छ। विशेषगरी रातभर नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको बुढापाकाहरू बताउँछन्।
रातभर नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारहरूको भनाइ छ। पुसे १५ मनाउने प्रचलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकालदेखि नै चल्दै आएको हो।