दार्चुला – दार्चुलामा स्थानीय तहको निर्वाचनको मिति नजिक–नजिक आउँदै जाँदा राजनीतिक दलहरूको सक्रियता बढ्दै–बढ्दै गएको छ । राष्ट्रिय राजनीतिलाई मार्गचित्र गर्न सक्ने आधारका रूपमा लिन सकिने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई बलियो पार्न राजनीतिक दलहरूबीच अहिले जिल्लामा तीव्र प्रतिस्पर्धा चल्दै जान थालेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनको बेलासम्म गाउँ नफर्कने आरोप लागेका नेताहरू यसपटक धेरै पटक गाउँमा देखिएका छन्। अहिले टोल–टोलमा जनप्रतिनिधि छन्, सामान्य कार्यक्रम उद्घाटन गर्न पनि राष्ट्रिय राजनीतिका नेतादेखि टोलमै राजनीति गरिरहेका नेताहरूले पनि ठाउँ पाइरहेका छन । स्थानीय सरकारमा जितेको पार्टी त सरकारी योजना र कार्यक्रम लिएरै नागरिकको दैलोमा पुगेर आगामी निर्वाचनको तयारी स्वरूप हाजिर गरेर फर्किएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको चहलपहलका कारण प्रतिपक्षी दलहरूले पनि चुप बसेनन्। सामान्य विषयमा पनि नागरिकको दैलोमा नपुग्ने हो भने आफूहरू जनताको नजरमा नपर्ने र चुनावमा मार खेप्नुपर्ने भएका कारण कोही रहरैले त कोही कहरैले नागरिकको दैलोमा पुगेका हुन् ।
‘अहिले चुवान आएपछि त नेताहरू गाउँ–गाउँमा त झनै धेरै आउने नै भए। तर, चुनाव घोषणा हुनु भन्दा पहिले पनि जन्तीदेखि मलामीसम्म जनप्रतिनिधिहरू हिँडेको देखिन्थ्यो। अब चुनावमा त को धेरै गाउँमा आउने भन्ने त हो,’ शैल्यशिखर नगरपालिका–३नारायण जोशी भन्छन्, ‘हामीलाई त जसले जिते पनि केही भएन, तर दैलोमा गाडी, धारामा पानी, बिरामी हुँदा औषधि, दुःखमा सान्त्वना जसले दिन्छ उही प्यारो हुन्छ।’
स्थानीय तहको निर्वाचनको मिति आउन दुई महिना मात्रै रहेको बेलामा सबैभन्दा बढी सरगर्मी मुख्य तीन दलहरूको बिचमा देखिएको छ। केन्द्रमा गठबन्धनको नारा चलाइरहेको भए पनि गाउँ–गाउँका नागरिकले गठबन्धनबारे सोचेकै छैनन्। जसका कारण गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादी आ–आफ्नै तरीकाले प्रचारमा लागेका छन्, चुनावी अभियानलाई तीव्र पारिरहेका छन्। नेपाली कांग्रेसले केन्द्रीय निर्देशनअनुसार नै ‘घर–घर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान आइतवरदेखि सुरु गरिसकेको छ। केन्द्रीय सदस्य एवं अभियानका लागि दार्चुला संयोजक मोहन राठौवरले उद्घाटन गरेसँगै दार्चुला कांग्रेस हरेक नागरिकको घरमा पुग्ने दौडाहामा लागेको छ।
टोल–टोलमा गएर घर–घरमा पसेर जनताको मनमा बसेर मात्र चुनाव जित्न सकिने भएकाले हरेक घरमा गएर जनतासँगै हुने गरी अभियान सुरु गरिएको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिह बोहरा बताउछन । ‘अहिले चुनाव आएर मात्रै होइन जनताको खुसीमा पनि दुःख मा कांग्रेस सकेसम्म पुग्ने गरेको छ।
त्यसमा पनि अहिले त झनै निर्वाचनको बेलामा केन्द्रीय निर्देशनअनुसार हरेक घरमा पुग्ने गरी लागेका छौँ,’ उनले भने, ‘अहिले कांग्रेस एक ढिक्का भएको छ। जनताले पनि काँग्रेसमा विश्वास गरेका छन्, यो विश्वास जोगाउन स्थानीय तहमा कांग्रेस नेतृत्व चाहिन्छ र त्यही नेतृत्वले जनअपेक्षा पूरा गर्छ।’नेकपा एमाले दार्चुलाका सचिव शेर सिह धामीले पनि एमालेले कसरतका साथ चुनाव लक्षित कार्यक्रमहरूलाई तीव्र पारेको बताउँछन्। एमालेको सदस्यता लिएका वा नलिएका सबैलाई एक ढिक्का बनाउने गरी जन वर्गीय संगठन निर्माण तथा परिचालन र वडा तहसम्म रहेका कमिटीहरूमा ऊर्जा निस्कने गरी भेटघाट तथा गाउँ अभियानहरू सञ्चालन भइरहेको बताए।
‘कसैले कसैलाई गाली गरेर होइन, आफूले गरेका र गर्न सक्ने कामहरू जनताको माझमा राखेर पार्टीले बलियो बनाउने प्रयासमा लागेका छौँ। अहिलेको नेतृत्वहरुले सिकाइमा ध्यान दिनुपरेको थियो, अबको नेतृत्वले मापनयोग्य काम गर्न सक्नुपर्छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय निर्देशन र जिल्लादेखि वडा तहसम्म बनेका रणनीति अनुसार चुनावी अभियानमा होमिएका छौँ। अहिले त बिहानदेखि बेलुकासम्म पूरै व्यस्त।’भएको एमाले दार्चुलाले जनाएको छ ।
जिल्ला राजनितिक दलहरुलाई पार्टी प्रवेश गराउन भ्याई नभ्याई
आफ्नो पार्टीमा आस्थावान त भइहाले त्योबाहेक फरक राजनीतिक दलमा आस्था राख्नेहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउने प्रयास गएका निर्वाचनमा जस्तै यसपटक पनि प्रशस्तै देखिएका छन्।
हरेक दिन जसो फरक–फरक पार्टीले आज यति कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गराइयो भन्दै जानकारीहरू दिइरहेका हुन्छन्। कट्टर भोट पार्टीमा आउने भए पनि राजनीतिमा धेरै चासो नराख्ने तथा विभिन्न कारणले ‘न्युट्रल’ जस्तैको अवस्थामा रहेका तथा आस्था राखेको राजनीतिक दलमा विमति राख्नेहरूलाई खोज्ने, परामर्श गर्ने र पार्टीमा प्रवेश गराउने होडबाजी दलहरूको बिचमा देखिएको छ। पार्टी प्रवेश गर्नेहरूले स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लाग्दा समेत आफ्ना नेताहरूले आफ्ना मागको सुनुवाइ नगरेको, काम गर्ने शैली मन नपरेको, पार्टीभित्रै फरक मत राख्दा पाखा लगाइएको लगायतका कारणहरूले गर्दा पार्टी परित्याग गर्नुपरेको बताउने गरेका छन्। मुख्यगरी दुई राजनितिक दलहरुमा यो प्रवृति बढि देखिएको छ । एमाले र काग्रेसले दर्जन कार्यकर्ताहरू अन्य दल परित्याग गरेर एमालेमा प्रवेश गरेको बताउँछन्।
स्थानीय निर्वाचन: फर्केर हेर्दा दार्चुला जिल्लामा एमाले भन्दा कांग्रेस बलियो
नेपाल सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै दार्चुला जिल्ला सहित देशभरको राजनीतिक सर्गर्मी त बढेको नै छ दार्चुला जिल्लाबाट प्रतिनिधीत्व गर्ने सबै दलका केन्द्रिय नेताहरुले स्थानीय निर्वाचनलाई आफ्नो पक्षमा पार्न विभिन्न रणनीति अपनाएका छन् ।
सबै दलका प्रमुख नेता गत निर्वाचनमा आफ्नो पार्टीले जितेका तह आगामी निर्वाचनमा पनि जित निकाल्दै थप शक्ति आर्जन गर्ने रणनीतिमा छन् । दार्चुला जिल्ला सहित देशभर नै पहिलो पार्टी बनेको नेकपा एमालेलाई पार्टी विभाजनले गर्दा आगामी निर्वाचनमा गत निर्वाचनमा आफूले जितेका स्थानीय तहमा जित निकाल्न सबै भन्दा बढी चूनौति देखिएको छ ।
यद्यपी नेकपा एमालेले दार्चुला जिल्लामा पार्टी विभाजनको प्रभाव कम परेको दाबी गर्दै आएको छ ।दार्चुला जिल्लामा ७ वटा गाउँपालिका र दुई वटा नगरपालिका गरी ९ वटा स्थानीय तह रहेका छन् । जसमध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमाले ३ गाउँपालिकामा जित निकालेको थियो । नेपाली कांगे्रसले दुई नगरपालिका ३ वटा गाउँपालिकागरी ५ वटामा जित हात पारेको थियो माओवादी केन्द्रले १ स्थानीय तहको प्रमुखमा जित निकालेको थियो । २०७४ सालको निर्वाचनमा एमालेले लेकम अपि हिमाल र नौगाडमा नेकपा एमाले जितेको थियो ।
महाकाली शैल्यशिखर दुहुँ मालिकार्जुन व्यासँ गाउँपालिकामा नेपाली कांगेसले जितेको थियो । यस्तै नेकपा माओवादी केन्द्रले जिल्लाको मार्मा गाउँपालिकामा मात्रै बलियो देखिएको थियो । अहिले स्थानीय तहको निर्वाचन घोषणासँगै कुन पालिकामा कुन दलले आफ्नो बर्चश्व कायम गर्लान ? भन्ने आँकलन हुन थालेको छ,।
एकातिर पाँचदलीय गठबन्दन रहेको अवस्थामा एमालेले विजयी गरेको पालिकामा समेत अन्य दलले विजयी बन्ने दावी गरेका छन्, त्यस्तै एमालेले समेत आफ्नो जीत सुनिश्चित बनाउन भन्दै गाउँघर अभियान संचालन गरिरहेको छ । जिल्लामा प्रमुख प्रतिस्प्रर्धा एमाले र काँग्रेसकै देखिएता पनि नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलको मत समेत कतिपय क्षेत्रमा जितहारको लागि निर्णायकनै देखिने भएको छ ।
एमाले विभाजन भएपछि एमालेको मत समेत बाँडिने भएकाले स्थानीय तहको निर्वाचनमा कसले बाजी मार्छ भन्ने आगामि चुनावी परिमाणले नै देखाउनेछ तर अहिले मतदाताहरु २०७४ सालको निर्वाचनमा विजयी भएका उम्मेद्वार तथा पार्टीसँग रुष्ट रहेका कारण कतिपय क्षेत्रको चुनावी परिणाम उल्टिन सक्ने विश्लेषकहरुको अनुमान गर्न थालेका छन् ।
जिल्लामा सिंगल सिंगल चुनावी प्रतिस्प्रर्धा हुने भएमा भने २०७४ को चुनावी नतिजा अनुसार जाने हो भने एमाले र काँग्रेसको आधा आधी जस्तो जनमत भएको देख्न सकिन्छ । तर स्थानीय तहको निर्वाचनमा काम, योग्यता, क्षमता र व्यक्तिगत रुपमा समेत मत रहनेभएकाले पार्टीको उम्मेद्वार नै हुनुपर्ने भन्ने हुँदैन, स्थानीय स्तरमा व्यक्तिको मूल्यांकन गरेर समेत मतदाताले मतदान गर्नसक्नेछन्, त्यसैले अहिले नै यो दलले जित्ने हार्ने भन्ने निश्चित हुँदैन ।