काठमाडौँ – राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए वमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्वन्धमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजाे आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सवै कार्यालयका प्रमुख एवम् कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुंदा लक्ष्य बमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धताका लागि बैठकको आयोजना गरिएको बताउंदै सबैलाई आ-आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए । आजैदेखि दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउंदै हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानूनको परिपालना गराउंदा गल्ति गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्न समेत निर्देशन दिए ।
उनले स्थानीय प्रशासन र सुरक्षा निकायसंगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जांचपासलाई वास्तविक र यथार्थपरक वनाउन निर्देशन दिए । त्यस्तै, कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना वढाउन निर्देशन दिए । सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मूलमन्त्र मानी कार्य गर्न समेत निर्देशन दिए ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाएका थिए ।