काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गरेका छन् । आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।
उनले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताए । उनले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हाम्रो परराष्ट्र नीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आए पनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरक–फरक भए भने फरक–फरक हुन्छ ।’
अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताए । उनले भने, ‘सचिव, सहसचिवहरू पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ । उमेर कम भएको मान्छे ५८ मा उमेर हद बनाएर आफू त्यो ठाउँमा हुन चाहन्छ । ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहन्छ । म त तपाईँको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरूसँग जान्छन् । त्यसपछि के हुन्छ रु हाम्रोमा व्यावहारिक अभ्यास यही नै छ । धेरै यसरी बिग्रिएको छ ।’
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका पाँच वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गरे । उनले आउँदा दिनमा मन्त्रिमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने बताए । उनले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसद्ले लापर्बाही गरेर अघि बढे संसद्प्रतिको विश्वास गुम्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताए।