काठमाडौँ – मुलुकी देवानी संहिता, २०७४ को दफा ८२ (ग) लाई असंवैधानिक घोषित गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दायर गरिएको छ । कानुनका विद्यार्थी स्मृति सापकोटा र प्रशान्त कार्कीले मङ्गलवार संवैधानिक इजलासमा रिट दायर गरेका हुन् ।
संहिताको दफा ८२ मा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने आधारहरू छ । दफा ८२ (ग) मा ‘पत्नीले कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा’ भन्ने व्यवस्था छ । यसले महिलाले गरेको बहुविवाहलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने भन्दै खारेजीको मागसहित रिट दायर गरिएको हो ।
रिट निवेदनमा सो व्यवस्थाले लैंगिक भेदभावलाई प्रोत्साहन गर्ने जिकिर गरिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने व्यवस्था छ । दफामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, कुनै महिलाले पुरुष विवाहित हो भन्ने जानाजान विवाह गर्न नहुने व्यवस्था छ । सो दफाबमोजिम बहुविवाह गर्ने र गराउने व्यक्तिलाई एकदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुने व्यवस्था छ ।
तर, कुनै वैवाहिक महिलाले वैवाहिक सम्बन्ध कायम रहँदै विवाह गरेमा पहिलो श्रीमानसँगको वैवाहिक सम्बन्ध स्वतः निष्क्रिय हुने व्यवस्थाले महिलालाई बहुविवाहबाट उन्मुक्ति दिई बहुविवाहजस्तो फौजदारी अपराधलाई प्रोत्साहन दिएको रिटमा उल्लेख छ । रिट उपर बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको छ ।