काठमाडौँ: ‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही फेरि विवादमा तानिएकी छन्। यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक विवादमा तानिएकी हुन्।
उनी हाल ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्जको रुपमा कार्यरत छन्।
उनै इन्स्पेक्टर शाही विवादमा तानिएर अहिले उनीमाथि छानबिन थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उनीमाथि आर्थिक अपचलन गरेको आरोप छ। सोही आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ।
जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ। बलात्कार घटनलाई उनले हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको उनीमाथि आरोप लागेको हो।
सोही सन्दर्भमा उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन्।
इन्सपेक्टर शाहीले आचरण विपरीत काम गरेको आधारमा छानबिन थालिएको र कारबाही गरिने ललितपुर प्रहरीले जनाएको छ।
बलात्कार घटनालाई रूपान्तरण गरेर उनले आर्थिक ‘लाभ’ लिएको आरोप छ। उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको बताइन्छ।
को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो।
र, यो पनि: सम्पादकलाई ‘विवादित’ इन्सपेक्टर बिनुकुमारीको धम्की