काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति तथा कार्यक्रम बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्डको नेतृत्वमा सरकार गठन भएलगत्तै नीति तथा कार्यक्रम तयार पार्न एमाले अध्यक्ष ओलीको संयोजक रहेको समिति बनाइएको थियो । सो समितिले सरकारलाई समर्थन गरेका दलहरूका प्राथमिकता माग गरी नीति तथा कार्यक्रमको तयारी गरिरहेको छ ।
आजको भेटमा २६ पुसमा लिइने विश्वासको मतका विषयमा पनि छलफल भएको बताइएको छ । विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारीमा रहेका प्रमुख दुई दल एमाले र माओवादीका शीर्ष नेताबीचको आजको छलफलमा सरकारमा आउन बाँकी रहेका दलहरूलाई कसरी समेट्ने भन्नेबारे पनि कुराकानी भएको छ ।
संविधानको धारा ७६ (२) अनुसार १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् ।