काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिए पनि सुनुवाइ रद्द भएको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा पेशी तोकिए पनि सन्दीपकै वकिलले मुद्दाको सुनुवाइ स्थगित गराएका हुन् ।
योसँगै लगातार तेस्रो पटक सुनुवाइ रद्द भएको हो। यसअघि पहिलोपटक पनि सन्दीप पक्षले नै सुनुवाइ रोकेको थियो। गत १४ पुसमा तोकिएको सुनुवाइ हेर्दाहेर्दैमा गएको थियो । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिग किशोरीलाई जबर्जस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।
पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अदालतमा प्रमाण पेश गरेका छन्। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ।
तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबर्जस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो।
यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए।