काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तीय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताएकी छन्। आइतबार राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरु उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझै धेरै कामहरु गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले बैंक तथा वित्तिय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरु, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी नीतिगत सुधारका लागि सम्बन्धित निकायहरुलाई अभिप्रेरित गर्नु राम्रो भएको बताइन् । आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्नसके आयातमा आधारित उपभोग प्रणाली, यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने राष्ट्रपति भण्डारीले बताइन् ।
उनले भने, ‘पुँजीको निर्माण र परिचालका क्षेत्रमा हाम्रा उद्देश्यहरु उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझै धेरै कार्य गर्नुपर्ने आवश्यकता छ। त्यसका लागि बैंकिङ तथा वित्तिय संस्थाहरुले नेपाल सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नेपर्ने खाँचो छ।’