काठमाडौं – विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो ।
बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारीबाट हटाएको पार्टीका प्रवक्ता शरद पाठकले बताए ।
उनीहरु मिलन पाण्डे पक्षीय नेताहरू हुन् । पाण्डेलाई यसअघि नै रविन्द्र मिश्रले जिम्मेवारीबाट मुक्त गरिसेका छन्। केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
यसैगरी, रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।
पछिल्ला चार वटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।