काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद् विस्तारको तयारीका लागि बैठक बस्दैछ।
बैठक प्रधानमन्त्री कार्यालयमा अहिले ११:३० बजे बस्दैछ।
आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी रहेकोछ।
सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएका छलफलपछि मन्त्रालयको भागबन्डामा सहमति भएको बताइएको छ ।
सरकार विस्तारमा सकस देखिएसँगै बुधबार साँझ प्रचण्ड बालकोट पुगेका थिए भने बिहीबार अपराह्न ओली बालुवाटार गएका थिए ।
सत्ता साझेदार सबभन्दा ठुलो दल नेकपा एमालेले जम्मा ८ मन्त्रालय पाउने भएको छ । उपप्रधानसहित अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षासहित, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा यातायात बाहेक थप ४ मन्त्रालय पाउने भएको छ । प्रचण्ड सरकारमा नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन् । माओवादीले सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र लगायतका मन्त्रालय लिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शहरी विकास र श्रम गरी थप ३ मन्त्रालय पाउने सहमति भएको बताइएको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय लिइसकेका छन् ।
सरकारलाई शुरुमै समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उपप्रधान र ऊर्जा मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । सुरुमा सरकारबाहिरबाट समर्थन गर्ने बताएको राप्रपाले पछि सरकारमा सहभागी हुने प्रतिबद्धता जनाएको थियो ।
यसैगरी जसपालाई दुई मन्त्रालय र एक राज्यमन्त्री तथा लोसपालाई एक मन्त्रालय दिन माओवादी र एमाले सहमत भएका छन् । जसपाको दाबी कृषि मन्त्रालयमा रहेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा आउन तयार भए रोजेको एक मन्त्रालय दिने सकिनेबारे ओली र प्रचण्डबीच कुराकानी भएको स्रोतले बताएको छ ।
सम्भवतः आज(शुक्रवार) नभए ढिलोमा माघ २ गतेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरुबीच छलफल भएको छ । माघ ५ गते हुने सभामुख निर्वाचनका लागि माघ ३ गतेदेखि प्रक्रिया सुरु हुँदैछ ।